मेरो देश
नेपाली आमाका नेपाली अनुहारहरू ।  नेपाली माटाका नेपाली अनुहारहरू ।  म त सप्तगण्डकी बनिसकेछु अनुहारहरूमा ।  म त सप्तकोसि नै बनिसकेछु भेष-भूषामा ।  मेरा कल्पनामा छाल उठेछन् सात स्वरको ।  एउटा वीणा हो नेपाल, एउटा सारङ्गी हो नेपाल ।  एउटा तुरही हो नेपाल, एउटा सहनाई हो नेपाल ।  मुर्चुङ्गामा एक्लै सेर्पिनी खेलेर झरेकी नेपाल ।  लिम्बुनी पाखा फेरी-फेरी उक्लेकी नेपाल ।  सिपालु हातले छुनू यो सप्तस्वर आफै बज्छ ।  सप्तगण्डी छुनू सिपालु हातले सप्तस्वर आफै उठ्छ ।  लहर उठ्नेछन् हिमाली क्षितिज कालीको तीर बनेर ।  कठोरता पग्लिनेछ नबोलेको वीणालाई एक स्वर दिनु मात्र छ ।  कठिन पनि छैन नबोलेको मित्र एक फेर घचघच्याउनु छ ।  टाढा छैन नचिनेको बस्ती एक फेर पुग्नुपर्छ ।  झर्नाहरू तार हुन् सारङ्गीका, झर्नाहरू रेसा हुन् मुर्चुगाका ।  सप्तगण्डकी जहाँबाट उठ्छ, सप्तकोशी जहाँबाट बज्छ ।  तमोर, अरुण निद्राबाट जुन सितारमा उठ्नेछन् स्पर्शमा ।  हिमाली पहरा गुनगुनाउनेछन् जुन गीतले  त्यो पानी उठेको छ यो सारङ्गीमा ।  त्यो छाल खेलेको छ नेपाली गितारको तारमा ।  सप्तगण्डकी सङ्गीतमय छ समूहगानले ।  सप्तस्वर त्यसैले सङ्गीतमय छ एकान्त ...